पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनता आवास कार्यक्रमः बाजुरामा १ हजार १२ घरका छाना फेरिने

राजेन्द्र बिक, बाजुरा । जनता आवास कार्यक्रम अन्तर्गत जिल्लाका १ हजार १२ घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका नौ वटै स्थानीय तहका १ हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । 

तीन वर्ष भित्र देशभरका सबै खर र फुसका छानाहरु विस्थापित गर्ने नीति अनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि १ हजार १२ घर परेका हुन् । स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रति घरलाई ५० हजारका दरले बजेट परेको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले जानकारी दिनुभएको छ । 

टिनका छाना छाउन अनुदान स्वरुप सबै खर र फुसका छाना हटाउने नीति अनुसार पहिलो चरणमा बाजुराका मात्र १ हजार १२ परिवारका लागि बजेट व्यवस्था गरिएको माननीय थापाले बताउनु भएको छ । 

पहिलो वर्ष जिल्लाका बडिमालिका नगरपालिकामा ८८ घरधुरी, बुढीगङ्गा नगरपालिकामा ९९ घरधुरी, त्रिबेणी नगरपालिकामा ५८ घरधुरी, बुढीनन्दा नगरपालिका १३४ घरधुरी, गौमुल गाउँपालिका १६६ घरधुरी, स्वामिकार्तिक खापर गाउँपालिका ११० घरधुरीले अनुदान पाउने छन् । 

यस्तै जगन्नाथ गाउँपालिका १४१ घरधुरी, खप्तड छेडेदह गाउँपालिका १३१ घरधुरी र हिमाली गाउँपालिका ८५ घरधुरी समेटिएका छन् । ५० हजार अनुदान सहीत टिनको पाता खरिद गरेर घर छाउन बजेट व्यवस्था गरिएपछि  स्थानीय खुशी भएका छन् ।

घरमाथिको खर समेत फेर्न नसकेका अति गरिबका लागि राज्य अभिभावक बनिदिने भएको छ । राज्यले आफै लगानी गरेर प्रति परिवारलाई ५० हजारको लगानी गरिदिने भएपछि जनता खुसी देखिएका छन् । जनता आवास कार्यक्रमलाई राज्यले गतिका साथ अघि बढाइरहेको छ ।