पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँकडभिट्टाबाट ढुवानीका साधन बाहिरिँदै

काठमाडौं । काँकडभिट्टा नाका हुँदै भारत र समुद्रपारका मुलुकमा निकासी गरिने मालवस्तु बोकेका ढुवानीका साधनहरू त्यस तर्फ जान थालेका छन् ।

यसअघि भारतको पश्चिम बंगाल प्रहरीले चैतको पहिलो सातादेखि काँकडभिट्टा नाकाबाट कुनै पनि ढुवानीका साधन छिर्न दिएको थिएन । तर एक हप्तादेखि निकासीका सामान बोकेर ढुवानीका साधन भारतका विभिन्न स्थान र बंगलादेश जान थालेका हुन् ।

काँकडभिट्टास्थित मेची भन्सारका प्रमुख ध्रुव विश्वकर्माले नाकाबाट निकासीका गाडी जान थालेको बताउनु भयो ।

भारततर्फ चिया, अदुवा र अलैँची लोड गरिएका ढुवानीका साधन र बंगलादेशतर्फ मसुरो दाल, चिराइतो र अम्लिसोको कुचोका गाडी जान थालेका छन् । 

नेपालबाट बंगलादेशतर्फ निर्यात गर्न काँकडभिट्टा नाकाको प्रयोग अनिवार्य छ । अन्य नाकाबाट बंगलादेश निर्यात हुन सक्ने अनुमति छैन । काँकडभिट्टा नाकाबाट फूलबारी मार्ग हुँदै ५० किलोमिटरको बाटो तय गरेपछि बंगलादेशको सिमाना बंगलाबन्ध आइपुग्छ । 

नेपालबाट यही मार्ग भएर बंगलादेशतर्फ निकासी गरिन्छ । पश्चिम बंगाल प्रहरीले मेची भन्सारबाट निकासीका गाडी जान नदिएपछि वाणिज्य मन्त्रालय र कोलकातास्थित महावाणिज्य दूतावासले भारतका विभिन्न निकायमा पहल गरेका थिए ।