पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज थप ४ सय ६३ संक्रमित थपिए, १ सय ७९ संक्रमण मुक्त

radionepal

केशव ढुंगाना । आज थप ४ सय ६३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय ५८ जना पुरुष र १ सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज रुकुम पश्चिम, रोल्पा, लम्जुङ, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, सर्लाही, गोरखा, दार्चुला, डडेलधुरा, सुनसरी, इलामका १–१,  झापा, दोलखा, पाल्पा, म्याग्दी, पर्वत, सल्यानका २–२ जना, अर्घाखाँची, तनहुँ र उदयपुरका ६–६, धनुषाका १०, महोत्तरीका ५६, गुल्मीका ३८, खोटाङका ४, कपिलवस्तु, कैलाली, मोरङ, र रौतहटका १७–१७, बाजुराका ९५, कास्कीका ५, नवलपरासी पूर्वका ३१, बाग्लुङका २९, प्युठानका ३५, रुपन्देहीका १२, दाङका ३४ र डोटीका १३ जनामा संक्रमण पुष्टि भएको छ । 

नेपालमा हाल सम्म ११ हजार २ सय ५८ जना पुरुष र १ हजार ४ सय ७४ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप १ सय ७९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ३ हजार १३ पुगेको छ ।  

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट १ सय ६६ जना पुरूष र १३ जना महिला संक्रमण मुक्त भएका छन् । 

नेपालमा हाल सम्म २ सय ५५ जना महिला र  २ हजार ७ सय ५८ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।  

देशका विभिन्न २२ वटा प्रयोगशालामा गएको २४ घण्टामा ४ हजार ९ सय ६२ वटा पिसिआर र २ हजार ७ सय ३२ वटा आर डि टी विधिबाट परीक्षण गरिएको प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो । 

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ९  हजार ७ सय ३१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।