पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विदेशमा १८ हजार सात सय नेपालीहरू कोरोना सङ्क्रमण मुक्त

भुवनप्रसाद आचार्य
काठमाडौं ।
गैर आवासीय नेपाली सङ्घले कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा सङ्क्रमित मध्ये १८ हजार सात सयभन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएको जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार दुई सय २७ जना नेपालीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार सात सय भन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएको जानकारी दिनुभयो ।

मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ ।

हालसम्म कतारमा कोरोना सङ्क्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

संयोजक डा.सापकोटाका अनुसार यही साता पहिलो पटक साउथ अफ्रिकामा रहेका पाँच जना नेपालीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अफ्रिकी अन्य देशसहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

यो साता बंगललादेशमा रहेका १५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा एक सय ५० जना थप नेपालीमा सङ्क्रमण भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीहरूको कोरोना भाइरस सङ्क्रमणका कारण एक सय ३० जना नेपालीहरूको ज्यान गएको छ ।

यस्तै डेनमार्क, नेदरल्याण्ड, अस्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया, लगायतका १९ देशमा बस्ने नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् ।

विदेशमा समस्या परेका ११ हजार तीन सय ७१ नेपाली स्वदेश फर्काइए
भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार तीन सय ७१ नेपाली स्वदेश फर्काइएको छ ।  जेठ २२ गतेदेखि असार १३ गते शनिवारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार तीन सय ७१ नेपाली स्वदेश फर्काइएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

कुन देशबाट कति फर्काइए
विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि गैर आवासीय नेपाली सङ्घका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरूले सहकार्य एवं समन्वय गरिरहेका छन् ।

जेठ २३ गतेदेखि असार १३ गते शनिवारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएका छन् । शनिवारसम्म सबैभन्दा बढी कुवेतबाट दुई हजार दुई जना नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न  राष्ट्रबाट स्वदेश फर्किएका नेपालीहरूको विवरण :
युएईबाट –२०१७
साउदी अरेबिया –१,२१८,
मलेसिया – ९२१,
बगंलादेश –८१५,
कतारबाट –६३८,
माल्दिभ्स–६०४,
जापान–४९२,
अस्ट्रेलियाबाट–२६९,
बहराइनबाट–४२०,
थाइल्यान्डबाट –३२६,
ओमानबाट –३१३,
अमेरिकाबाट –४८३,
दक्षिण कोरिया –२२८,
सिंगापुरबाट –१४६,
बेलायत –२२९,
हङकङबाट –८९,
पाकिस्तान –७२,
म्यानमारबाट २६,
अफगानिस्तानबाट –१८
श्रीलङ्काबाट ५ जना गरी ११ हजार तीन सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

गैर आवासीय नेपाली सङ्घले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

सोही अनुरूप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

८७ वटा शव नेपाल ल्याइयो
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ ।

हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ ।

यस अलावा १२० वटा शव अझै विदेशमै रहेका छन् । जसलाई नेपाल ल्याउन गैर आवासीय नेपाली सङ्घले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको गैर आवासीय नेपाली सङ्घ, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनु भयो ।