पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साकार हुँदै कालापानीको मुहान खोज्ने जननेता भण्डारीको सपना

radionepal

यशोदा अधिकारी

 

काठमाडौं ।  जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको वहुदलीय जनवाद (जबज)को सिद्धान्त र मार्गदर्शनको जगमा अहिले मुलुकमा एकीकृत वामपन्थी पार्टीको नेतृत्वमा बनेको सरकार समाजवादतर्फ लक्षित समृद्धि र स्वाभिमानसहितको राष्ट्रियताका लागि क्रियाशील छ ।

सामाजिक न्यायसहितको लोकतान्त्रिक अधिकारलाई संविधानमा सुनिश्चित गरिनुपर्ने र सोही अनुरूप ऐन कानुनहरू बन्नुपर्ने माग जननेता भण्डारीले साढे तीन दशक अगाडि नै उठाउनुभएको थियो । यति मात्रै होइन, उहाँले अहिले चर्चामा रहेको भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको खोजी गर्दे भारतसँग सार्वजनिक रूपमा जवाफ माग्नुभएको थियो ।

जबज यस्तो सिद्धान्त हो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको धारमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त बनेको जबजकै प्रभावले २०५१ को आम निर्वाचनमा बहुमत प्राप्त गरी प्रथम जन निर्वाचित कम्युनिष्ट पार्टीको सरकार गठन गराएको थियो । त्यही एमाले धार र सशस्त्र सङ्घर्षबाट शान्ति वार्तामा आएको तत्कालीन नेकपा माओवादी केन्द्रको धारबिच २०७५ जेठ ३ गते जननेता भण्डारीकै स्मृतिका दिन ऐतिहासिक एकता भई वर्तमान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झन्डै दुई तिहाइ नजिकको बहुमत प्राप्त हैसियतमा छ । हाल नेकपाले जबज र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनसम्म वैचारिक बहसको विषय बनाइ समाजवाद उन्मुख जनताको जनवादलाई अङ्गीकार गरेको छ ।

जबजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित मानवअधिकार र वहुलवादलाई अङ्गीकार गर्दै नेपाली समाजलाई समाजवादमा पु¥याउन राखेको लक्ष्य अहिले नेकपाको साझा धारणा बनेको छ ।

संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली र आवधिक निर्वाचनजस्ता विचार उहाँका दूरगामी विचार हुन् । बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुदलीय शासन पद्धति र शान्तिपूर्ण आन्दोलनबाट जनअधिकार प्राप्ति हुन सक्ने मान्यता राख्नुहुने जननेता भण्डारी सधैँ कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणका पक्षमा उभिनुहुन्थ्यो । भण्डारीको नेतृत्वमा रहेको तात्कालिन नेकपा मालेले विदेश नीति पञ्चशीलको सिद्धान्तमा आधारित हुनुपर्ने र प्रतिस्पर्धाद्वारा नेतृत्वका सम्बन्धमा स्पष्ट धारण राख्ने गर्नुहुन्थ्यो ।

जननेता भण्डारीले २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै २७ बुँदामा असहमति प्रस्तुत गर्नुभएको थियो । संविधानसभाले बनाएको वर्तमान संविधान भण्डारीले साँढे तीन दशक अघि नै सार्नुभएको मूल मान्यताहरूमा आधारित छ । यसबाट पनि भण्डारीको दूरदर्शिता र कुसल नेतृत्वको उजागर भएको विश्लेषकहरू बताउँछन् ।

वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल समकालीन राजनीतिमा जननेता भण्डारीको योगदानलाई कम्यनिष्ट आन्दोलनको लोकतान्त्रिककरणका अभियानताका रूपमा स्मरण गर्नुहुन्छ । डा.अर्याल भन्नुहुन्छ — ‘जनताको बहुदलीय जनवादको सिद्धान्त, लोकतान्त्रिक प्रतिस्पर्धात्मक बहुदलीय प्रतिस्पर्धा नेता भण्डारीकै सपना थियो ।’ जननेता भण्डारीले त्यतिखेर नै महाकाली नदीको सीमाना खोज्नुभएको प्रमाण भएको बताउनुहुन्छ । उहाँ हालै संसद्बाट पारित नेपालको संविधानको अनुसूचीमा अतिक्रमित भूभाग समेटिएको नेपालको नक्साका विषयमा मदन भण्डारीले उति बेलै नेपालको स्पष्ट धारणा राख्नुभएको बताउनुहुन्छ ।

परिवर्तनकारी भूमिसुधार गरिनुपर्ने, आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, श्रमिकहरूलाई आफ्नो श्रम र श्रमको उत्पादनमाथि पूर्ण स्वामित्व प्रदान गर्नुपर्ने जस्ता कुरामा जोड दिँदै जननेता भण्डारीले प्रजातन्त्र पुनर्बहाली भएपछिको पहिलो निर्वाचनमा जाँदा राजालाईसमेत श्रीपेच खोलेर चुनाव लड्न आउन चुनौती दिनुभएको थियो ।

२०४७ को संविधानमा जनताको अधिकार राजाको हातमा पुगेको भन्दै जननेता भण्डारीले
जनता र जनताबाट निर्वाचित प्रतिनिधिहरूद्धारा सार्वभौमसत्ताको प्रयोग हुने व्यवस्था गर्न माग गर्नुभएको थियो । जननेता भण्डारीले त्यतिखेर नै संविधानबाट ‘हिन्दु’ धर्म भन्ने शब्द हटाइनुपर्ने माग गर्नुभएको थियो ।

परिवर्तनकारी भूमिसुधार गरिनुपर्ने, आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, श्रमिकहरूलाई आफ्नो श्रम र श्रमको उत्पादनमाथि पूर्ण स्वामित्व प्रदान गर्नुपर्ने जस्ता कुरामा जोड दिँदै जननेता भण्डारीले प्रजातन्त्र पुनर्बहाली भएपछिको पहिलो निर्वाचनमा जाँदा राजालाईसमेत श्रीपेच खोलेर चुनाव लड्न आउन चुनौती दिनुभएको थियो । प्रजातन्त्र पुनरवहालीपछि भएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई लोकप्रिय मतले पराजित गर्दै विजयी भएपछि विश्वमा उहाँको कुशल नेतृत्वको चर्चा हुन थाल्यो । सधैँ श्रमजीवी वर्गको पक्षमा लड्ने जननेता भण्डारीलाई विश्वका सञ्चार माध्यमले पनि नेपालमा कार्ल मार्क्स जीवित छन् भनेर चर्चा गरेका थिए ।

समकालीन नेपाली राजनीतिमा स्वर्गीय भण्डारीको योगदानलाई विश्लेषण गर्नुहुन्छ जननेता भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा विद्यावारिधि गरिरहनुभएका चुरामणी बेलवासे जवजको मार्गदर्शक सिद्धान्त र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण हुनुपर्ने विचार विश्वमै उदाहरणीय भएको बताउनुहुन्छ ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाघुमा जन्मनुभएका नेता भण्डारी बाल्यकालदेखि नै अदभूत प्रतिभाशाली हुनुहुन्थ्यो । विद्यार्थी जीवनकालबाटै पुष्पलालसँगको भेटले उहाँ राजनीतिमा लाग्नुभएको थियो । बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य भएपछि सक्रिय राजनीतिमा लाग्नुभएका भण्डारी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको महासचिव भएर नेपाली कम्युनिष्ट आन्दोलनमा शीर्ष व्यक्तित्वका रूपमा रहनुभयो भने त्यसपछि तत्कालीन एमाले पार्टीको कुशल नेतृत्व गर्नुभएको थियो ।

बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुदलीय शासन पद्धति र शान्तिपूर्ण आन्दोलनबाट जनअधिकार प्राप्ति हुन सक्ने मान्यता राख्नुहुने जननेता भण्डारी सधैँ कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणका पक्षमा उभिनुहुन्थ्यो ।

श्रमजीवीको आवाज बोल्दै बिहानीको आकाशमा उदाएको एउटा चम्किलो घामलाई अन्ततः मध्यान्ह नहुँदै कालो बादलले ढाकिदियो । २०५० साल जेठ ३ गते चितवनमा आयोजना हुने पार्टीको कार्यक्रममा भाग लिन जाँदा दासढुंगामा जिप दुर्घटनामा परी उहाँको निधन भयो ।

परिवर्तनकामी वर्गका आशाको दियो त्रिशूली नदीमा बगेको पानीले भिनाइदिएपनि उहाँको विचार र दर्शन युग युगसम्म नेपाली वामपन्थी आन्दोलनमा मार्गदर्शक सिद्धान्तका रूपमा रहिरहनेछ । हाल मुलुकको राजनीतिक उपलब्धि र देशको विकास र समृद्धि जननेता मदन भण्डारीकै सपना हुन् , जुन सपनामा आज सिङ्गो मुलुक अघि बढिरहेको छ ।