पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विदेशबाट फर्केर व्यवसायीक तरकारी खेतीमा युवा

radionepal

सागर परियार
जुम्ला । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै भएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले एकातर्फ सन्त्रास फैलाएको छ भने अर्कोतर्फ स्वयम आफै आत्मनिर्भर हुनुपर्ने पाठ सिकाएको छ ।

नुनदेखि सुनसम्म आयातमै निर्भर हुने नेपाल जस्तो देशमा बन्दाबन्दी र कोरोना भाईरस सङ्क्रमणको असर तुलनात्मक रूपमा बढी नै परेको छ ।

भारतबाट हरेक कुरा आयात नहुँदासम्म चुलो नबल्ने नेपालमा लकडाउनका कारण सीमा नाका बन्द भएपछि कोरोनासँगै खाद्य सङ्कटको चुनौती थपिएको छ ।

कोरोना सङ्क्रमण क्रमिक रूपमा बढ्दै जान थालेपछि अन्तर जिल्ला आवागमनमा पनि रोक लगाइएको छ । एक जिल्लाको खाद्य सामाग्री, तरकारी फलफूल अर्को जिल्लामा लिन समेत प्रतिबन्ध लगाइएको छ । यसले गर्दा जुम्लामा मात्रै हैन नेपालभरिका ग्रामीण जिल्लाहरूमा समस्या परेको देखिएको छ ।

यद्धपी, कोरोना सङ्कटले विपत्तिमा आफ्नै खेतबारीमा इलम गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ, भन्ने पाठ सिकाए पनि मूलतः नेपालीहरू व्यवहारमा लागु भने फिटिक्कै गर्दैनन् ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै सीमा नाका बन्द हुँदा अन्य खाद्य बस्तु जस्तै तरकारीको चरम अभाव भएको छ । त्यसैले हरेक सङ्कटमा हुन सक्ने खाद्य असुरक्षालाई कम गर्न व्यवसायीक कृषिको विकल्प छैन । व्यवसायी कृषिका लागि जुम्लाका युवाहरू अहिले सक्रिय हुन थालेका छन् । व्यवसायी कृषिबाट नै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोचाइको विकास बअिले युवाहरूमा आउनु थालेको छ ।

व्यवसायी तरकारी खेतीमा युवा
तातोपानी गाउँपालिका–२ का महेश डाँगी ३ वर्ष मलेसिया बसेर कोरोना फैलिनु केही महिना अघि मात्र नेपाल फर्किएका हुन् । दिनको १८ घण्टा मलेसियामा डियूटी गरेका महेशले १२ घण्टा मात्रै स्वदेशमा खटिए रोजगारीका लागि भौँतारिनु नपर्ने सोचिसकेका थिए । घर पुगेको केही समयमै उनी व्यवसायी तरकारी खेतीमा जुटेका छन् ।

साथै तातोपानी–२ कै रमेश डाँगी पनि ४ वर्ष कतार बसेर फर्किएका हुन् । त्यसपछि उनी घर छोडेर बाहिर गएका छैनन् । उनले पनि गाउँमै अर्गानिक तरकारी खेती गर्ने सोच नराखेका पनि हैनन् । तर साथीको अभावले केही गर्न नसकेका रमेश अहिले तरकारी खेतीमै व्यस्त छन् ।

त्यस्तै तातोपानी–२ कै भरै बुढा ३ वर्ष मलेसिया काम गरेर घर फर्किएका हुन् । उनलाई पनि विदेशमा गर्ने दुख गाउँमै गर्दा आम्दानी पनि हुने, सुरक्षित पनि भइने,उपभोक्ताले सेवा पनि पाउने सोच आउँथ्यो । साझा लगानी गर्ने युवा नभेटिएकै कारण रोकिएका भरै अहिले व्यवसायी तरकारी खेतीमा छन् । अहिले पदम डाँगी र अर्जुन कठायतसहित पाँच जना युवाले जुम्लाकै नमुना रूपमा दुई हेक्टर जमिनमा तरकारी खेती सुरु गरेका छन् ।

हालको अवस्थामा घर फर्किएका युवालाई रोजगारी दिनु र कोरोनासँग जुध्नु तीनै तहको सरकारलाई चुनौती छ ।

स्थानीय सरकारले व्यवसायी कृषि, रोजगारी सृजनाका बहस गरिरहँदा हामीले बन्दाबन्दीका बिच आफ्नै लगानीमा व्यवसायी तरकारी खेती गरेका छौ, युवा महेश डाँगीले भने,“घर फर्किएका युवालाई रोजगारी सृजना पनि हुने र स्थानीय बजारमा सस्तोमा तरकारी पनि आपूर्ति गर्ने हुन्छ भने, केही समयपछि करिब १५ जनालाई रोजगारी दिने लक्ष्य समेत उनीहरूको रहेको छ ।”

स्थानीय सरकार व्यवसायी कृषि बहस चलाउनु पहिले हामीले दुई हेक्टर जमिन व्यवसायी तरकारी खेती सुरु गरिसकेका छौ । स्थानीय बजारमा पुर्‍याउन(बन्दा, आलु, मटर, प्याज, टमाटर, भ्यान्टा, फर्सी, गाजर, लसुन, मुला)लगायत विभिन्न किसिमको तरकारी उत्पादन भइरहेको डाँगीको भनाई छ ।

उनीहरूले तिला अर्गानिक वाईल्ड एण्ड एग्रो नामक कृषि फर्म दर्ता गरेर जिल्लामै व्यवसायी तरकारी खेती गरिरहेका छन्।

स्वदेशमै मेहनत गरी कोरोना जस्तै हरेक महामारीमा कर्णालीभरीनै जुम्लाबाट अर्गानिक तरकारी निर्यात गर्ने लक्ष्य छ । अर्को रमेश डाँगीले भने,“धान जौ फल्ने दुई हेक्टर जमिन लिजमा लिएका छौ । मौसमी र बेमौसमी खेती गर्दै व्यवसायलाई निरन्तरता दिने सोचमा छौ ।”

तीन वर्ष मलेसियामा बिताएका भरै बुढालगायत महेश, पदम, रमेशका दैनिकी खेतमा तरकारी गोडमेलमै बित्ने गर्दछ ।

सुरुवातीमा बजारीकरणमा केही समस्या भए पनि घरमा काम छैन भन्ने युवाले अनुसरण गरुन्, तरकारी पकेट क्षेत्र निर्धारण गर्न करिब २० वर्षसम्म खेतीलाई निरन्तरता दिइने युवा भरै बुढाको भनाई छ ।

१२ लाख बढी लगानी
जुम्लामै नमुनाका रूपमा शरु गरिएको व्यवसायी तरकारी खेतीका लागि पाँच जना युवाले हालसम्म १२ लाख ५० हजार लगानी गरेका छन् ।

प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले लगानी गरेका युवाले बिउ खरिद, फर्मको घेरा बार, कीटनाशक विषादी, कामदार खर्च लगायत अन्य गरी हालसम्म साढे १२ लाख लगानी भएको युवा महेश डाँगीले बताए ।

स्थानीय सरकारले व्यवसायी कृषिका बहस मात्रै गर्नुभन्दा व्यवसायी रूपमा कृषिमा जुटेका युवालाई अनुदानको व्यवस्था गनुर्् पर्ने युवाहरूको माग रहेको छ ।

वर्षमा करिब २० देखि २्र५ लाख आम्दानी गर्ने लक्ष्य अनुसार तरकारी खेतीलाई बढाएका छन् । हाल लगानी गरिएको १२ लाखभन्दा आवश्यकता अनुसार लगानी बढ्ने सक्ने युवा डाँगीको भनाई छ ।

कृषिमा एक करोड विनियोजन
तातोपानी गाउँपालिकाले आगामी आव २०७७/०७८ का लागि कृषिमा मात्रै एक करोड बजेट विनियोजन गरेको छ ।

कोरोना भाइरसले सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै कृषिलाई मुख्य प्राथमिकता दिँदै एक करोड विनियोजन गरिएको अध्यक्ष नवराज न्यौपानेले बताए ।

व्यवसायी रूपमा कृषिमा जुटेका युवालाई ५० प्रतिशत अनुदान दिने, कृषिमा यान्त्रीकरण गर्ने नीति लिएको अध्यक्ष न्यौपानेको भनाई छ ।

तातोपानी गाउँपालिकाले बाँझो राख्न नपाइने नीतिलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।