पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१ सय २५ किलो गाँजासहित ट्रक र मोटरसाईकल बरामद, तीन पक्राउ

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ३ मा रहेको बुलेट ईट्टा उद्योगबाट १ सय २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इट्टा उद्योगबाट अवैध रुपमा गाँजाको कारोवार समेत हुने गरेको सुराकीको आधारमा प्रहरीले आज विहान १ बजे कलैया उपमहानगरपालिका वडा नम्बर–१७ ब्रह्मपुरी टोल बस्ने २५ बर्षिय सुबोध प्रसाद यादव, पर्सा जिल्ला बहुदरामाई नगरपालिका वडा नम्बर–९ घर भई हाल बाराको करैयामाई गाउँपालिका वडा नम्बर–४ लौतनटोल बस्दै आएका  ६२ बर्षिय समसुलहक देवान र चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर–७ बस्ने लक्ष्मी बहादुर राईलाई ९ वटा पोकामा रहेको गाँजा सहित रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको क्राईम ब्रान्चको प्रहरी टोली र गञ्जभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रामउदय शर्माको नेतृत्वमा खटिएको टोलीले इट्टा भट्टाबाट गाँजा बरामद गरेको थियो । 

चितवनको लोथरबाट आएको ना ७ ख ४२५२ नम्बरको ट्रकबाट गाँजाको पोकाहरु अनलोड गरी ईट्टा उद्योगमा लुकाउदै गरेको अवस्थामा ट्रकसहित ९ वटा पोकामा रहेको गाँजा प्रहरीले बरामद गरेको बाराका प्रहरी उपरिक्षक पंगेनीले बताउनुभयो । 

गाँजा ओसारपसार कार्यमा संलग्न रहेको ट्रक, प्रदेश नम्बर २–०३–००१ प. ९४१ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

अभियुक्तहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।