पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश २ मा संक्रमितको संख्या ३२ सय पुग्यो

radionepal

अजय कुमार झा, जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ मा १ सय ३ जनामा नयाँ व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि  भएको छ ।

पछिल्ला संक्रमित संगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ । जसमा १ सय ९७ महिला तथा ३ हजार ३ सय पुरुष रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो संक्रमण देखा पर्नेमा धनुषाको मिथिला नगरपालिकामा ११ जना, नगराईन नगरपालिकामा ७ जना तथा वटेश्वर गाउँपालिकामा २ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयका उपसचिव एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

यसैगरी, महोत्तरी जिल्लामा २ महिला सहित १२ जना, सप्तरी जिल्लामा १ महिला सहित ६ जना, रौतहटमा १० महिला सहित सहित ४४ जना र सर्लाही जिल्लामा ५ महिला सहित २१ जनामा संक्रमण भएको पुष्टि मन्त्रालयले गरेको छ ।

आज मात्र प्रदेश नंं २ मा ५ सय ५५ जनाको स्वाव संकलन गर्ने काम भएको छ भने हालसम्म ४१ हजार १ सय ५१ जनाको स्वाव संकलन भएको छ । ६ हजार ८ सय १३ जनाको परीक्षण परिणाम आउन बाँकी रहेको छ ।

अहिले प्रदेश नंं २ को विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनमा ९ हजार १ सय ५ जना रहेका छन् भने होम क्वारेन्टाईनमा १५ हजार ४ सय ५४ जना रहेका छन् । आईसोलेशनमा ७ सय ९३ जना रहेका छन् ।

कोरोना मुक्त भएर आज मात्र १ सय २५ जना घर फर्केका छन् भने हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या १ हजार २ सय ३४ पुगेको छ ।