पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नंं २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६

radionepal

अजय कुमार झा, जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्र प्रदेश नम्वर  २ मा ८३ जना नयाँ ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा प्रदेश नं. २ को सप्तरीमा ७ जना, धनुषामा ८ जना, महोत्तरीमा ३५ जना, सर्लाहीमा २७ जना र रौतहटमा ६ जनामा कोरोनाको संक्रमण भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६६ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरु र सोही गाउँपालिका २० र २७ वर्षका २ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

यसै गरि धनुषा जिल्लामाको नगराईन नगरपालिकाको देबपुरा रुपैठा क्वारेण्टाइनका रहेका १९ देखि ५४ बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटियानी नगरपालिकाको क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा गाउँपालिकाको क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला नगरपालिकाको क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको मन्त्रालयले जनाएको छ ।

उनीहरु मध्ये गौशला नगरपालिकाको क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमित रहेकी छिन् भने अन्य क्वारेन्टाईनमा  ११ देखी ४४ बर्ष उमेर समूहका  ३४ जना पुरुषहरु संक्रमित भएका रहेका छन् ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौंका अनुसार सर्लाही जिल्लाको रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् ।

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितहरुको संख्या बढिरहेको वर्तमान समयमा कारोनालाई जितेर सामान्य जीवनमा फर्कनेहरुको संख्या समेत बढी रहेका प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अधिकांश संक्रमितहरु भारतको विभिन्न शहरमा गएर नेपाल फर्केका नेपालीहरु नै रहेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतबाट आएका व्यक्तिहरु अहिले पनि विभिन्न क्वारेन्टाईनहरुमा उल्लेख्य संख्यामा रहेका छन् ।

प्रदेश नंं २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात् कोरोनालाई पराजित गर्दै निको भएर घर फर्किएका छन् ।