पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१५६ नयाँ सङ्क्रमित थपिए, संक्रमितको संख्या १ हजार ४२

radionepal

केशव ढुंगाना/सरिता खनाल । ललितपूरको किष्ट अस्पतालमा उपचारका क्रममा हिजो (जेष्ठ १४ गते) निधन भएका ललितपूर बुङ्मतीका ५६ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक पुरुष यही जेष्ठ ११ गते कलेजोको समस्या भई उपचारका लागि अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार उहाँमा जेष्ठ १२ गते कोरोना संक्रमण समेत पुष्टि भएको थियोे । यसैगरी आज थप १ सय ५६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले विपि कोईराला क्यान्सर अस्पताल धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना, कोशी अस्पतालमा झापाका २५ जना, हेटौंडा किट प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपूरका १ जना, पोखरा प्रादेशिक प्रयोगशालामा स्याङ्जाका ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ जना र बाँकेका १ जना, सेती अस्पतालमा कैलालीका २ र दार्चुलाका १ गरी जम्मा ३ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका ८ जना, बझाङ्का १ जना र एक जना बोल्न नसक्ने भएका कारण ठेगाना नखुलेको एक महिला सहित जम्मा २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी भरतपूर अस्पतालमा गरिएको परीक्षणमा नवलपूरका १ जना, तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, रौतहटका ३ जना, दोलखाका २ र सोलुखुम्बुका १ जना गरी कूल ७७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ५१ जिल्लाका ९ सय ४० पुरूष र १ सय २ जना महिलामा संक्रमण पुष्टि भएको छ भने हाल सम्म कूल १ सय ८७ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

हाल सम्म नेपालमा कूल ६० हजार ६ सय ९६ जनाको पिसीआर तथा एक लाख  ४ हजार ६ सय ३४ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय १९ जनाको पिसिआर र १ हजार ७ सय ४७  जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।