पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघीय संसदमा आर्थिक सर्वेक्षण पेश

radionepal

तुलसी सापकोटा । प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज कसेको छुट्टाछुट्टै बैठकमा “आर्थिक वर्ष २०७६–०७७ को आर्थिक सर्वेक्षण” पेश भएको छ ।

बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेश गर्नु हुदै आर्थिक वर्ष २०७६–७७ को फागुनसम्मको सम्पूर्ण आर्थिक क्रियाकलापमा तीव्रता आएपनि त्यसपछी केभिड १९ को संक्रमणको असर परेकाले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

अर्थ मन्त्री खतिवडाले कोभिड १९को रोकथामका लागि चालिएको कदमबाट सार्वजनिक एवं नीजि क्षेत्रको खर्चमा आएको संकुचनले चालु आर्थिक वर्षमा कुल लगानी गत वर्षको तुलनामा ३.४ प्रतिशतले न्युन भई १८ खर्व ८९ अर्व र २६ करोड पुगेको बताउउनु भयो ।

चालु आर्थिक वर्षमा गरिवीको रेखामुनीको जनसंख्य १६.६७ प्रतिशत रहने अनुमान रहेको उहाँले बताउनुभयो ।

२०७७ फागुनसम्म अर्थतन्त्रका अन्य परिसूचकहरु सकारात्मक रहेको बताउनु हुदै अर्थ मन्त्री डा. खतिवडाले मुद्रा स्फिती, बैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचक सकारात्मक भई आर्थिक स्थायीत्व अनुकुल हुदै गएको बताउनुभयो ।

चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारले संकलन गर्ने राजस्व अघिल्लो वर्षको तुलनामा ९.६ प्रतिशतले बृद्धि भई ४ खर्व ७९ अर्व रुपैयाँरहेको पनि अर्थ मन्त्री डा. खतिवाडाले जानकरी दिनुभयो ।

फागुन मसान्तसम्म कुल बैदेशिक अनुदान १६ अर्व १९ करोड र ऋण ९३ अर्व ९ करोड रुपियाँ गरी १ खर्व ९ अर्व २८ करोड बैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको, नेपालले कुल तिर्नुपर्ने सार्वजनिक ऋण ११ खर्व ३७ अर्व ८० करोड रुपियाँ पुगेको सर्वेक्षणले औल्याएको छ ।

यस अवधिमा मुलुकको वित्तिय क्षेत्रको विस्तार हुदै गएको, बीत्तिय पहुँच अभिबृद्धि हुदै गएको र विमामा २२ प्रतिशत जनसंख्याको पहुँच पुगेको पनि सर्वेक्षणले देखाएको छ ।

फागुन मसान्तसम्ममा नेपालको कुलबस्तु निर्यात २२.३ प्रतिशतले बृद्धि भई ७४ अर्व ९१ करोड रुपियाँ पुगेको छ भने बस्तु आयात २.६ प्रतिशतले घटेर ९ खर्ब २४ अर्व २४ करोड रुपियाँ पुगेको छ र व्यापार घाटा ४.७ प्रतिशतले संकुचन भएको सर्वेक्षणले देखाएको छ ।

फागुन मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिती ३७ अर्व ८४ करोड रुपियाँले बचतमा रहेको, विप्रेषण आप्रवाह १.८ प्रतिशतले बृद्धिभई ५ खर्ब  ९२ अर्व ४२ करोड पुगेको र कुल जनसंख्याको ९० प्रतिशतमा विद्युतको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा संघबाट १५ हजार २ सय ५४ किलोमिटर सडक कालेपत्रे भएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका  सभापति पूर्णकुमारी सुवेदीले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६–०७७” पेश गर्नुभयो ।

यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यव्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७ पे गर्नु भयो ।