पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थपिए ९० कोरोना संक्रमित, संक्रमितको संख्या ७७२

radionepal

केशव ढुंगाना/सरिता खनाल । कोरोना भाइरसबाट आज थप ९० जना संक्रमित भएसंगै नेपालमा कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप ९० जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा देवकोटाका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणमा महोत्तरीका २ जना, जुम्लाका २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिराहाका ५ जना र धनुषाका १ जना गरी जम्मा ३५ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बाँकेका ८ जना, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँची, कपिलवस्तु, र गुल्मीका २/२ जना  र रुपन्देहीका १ जना गरी जम्मा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा कैलाली र अछामका गरी २ जना, पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २  जना, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका १२ जना, र राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठा दाङमा गरिएको पिसिआर परीक्षणमा कपिलवस्तुका २४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी आज थप ४३ जना उपचारपछि निको भई घर फर्किएपछि कोरोना संक्रमित भई निको हुनेको कूल संख्या १ सय ५५ पुगेको छ ।

नारायणी अस्पताल वीरगञ्ज बाट आज ४१ जना पुरुष  र २ जना महिला गरी जम्मा ४३ जना उपचार पछि निको भई घर फकिएकोे प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

हाल सम्म नेपालमा कूल ५४ हजार ४ सय २४ जनाको पिसीआर तथा ९७ हजार ९ सय ६७ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पिसिआर र २ हजार ७ सय ७५ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।