पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता नरोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।  
       
आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणको उपलब्धताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।    
     
कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रम घोषणा भई कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षाभत्ता समेतबाट एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई विमुख गराउँदा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हकको सम्मान गर्न आयोगले आग्रह गरेको छ ।