पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत

रामप्रसाद आचार्य, बुटवल । प्रदेश नं ५ प्रदेश सभाको छैठौं अधिवेशनको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण लागि विशेष योजना सञ्चालन गरिने बताउनुभएको छ ।

तराई ६ जिल्लामा धेरै भन्दा धेरै क्वारेनटाइन, आइसोलेसन अस्पतालका निर्माण तथा पहाडी जिल्लामा पनि आवश्यकता अनुसारका निर्माण गरिने नीति तथा कार्यक्रममा पेश भएको छ । त्यसैगरी प्रदेशको विशेष चासोको रुपमा रहेको प्रदेशको राजधानी र नामाकरणको टुंगो कोरोना नियन्त्रण पछि लगाइने भएको छ  ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने समेत बताउनु भयो ।

नीति तथा कार्यक्रममा प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुररयाउँदै ३ वर्षभित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । प्रदेश ५ का सबै काठका पोल हटाइनेछ ।

सरकारको कार्यक्रममा प्रदेशका सडकहरुमा सञ्चालन हुने यातायात र यात्रुको सूरक्षाका लागि मोड काटने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

ठुला सडकलाई सुरक्षित बनाई भाडालाई कार्डको माध्यमबाट लिइने कार्यक्रम तय गरिएको छ भने चालु आर्थिक वर्षमा ५५ बटा पुल निर्माण सम्पन्न गरीने र बाँकी ४० पुल अर्को वर्ष सम्पन्न गरिने सरकारको निती तथा कार्यक्रममा समावेश गरिएको छ ।

आजको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सभामुख पुर्णबहादुर घर्तिले भोलि सोमबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको थियो ।