पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको नयाँ नक्सा सार्वजनिक

radionepal

केशव ढुंगाना, काठमाडौं । सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा सर्वजनिक गरेको छ । 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी महाकाली नदीको मुहान लिम्पियाधुरा सहित सबै अन्तराष्ट्रिय सिमानाहरू तथा सबै स्थानीय तहका सिमानाहरू समेटिएको नक्शा सार्वजनिक गरेको हो । 

नयाँ नक्सामा दार्चुला जिल्लाको  नाभि, कुटी, गुञ्जी कालापानी लगायत महाकाली पूर्वका सबै भू–भागहरु समेटिएको छ । 

पत्रकार सम्मेलनमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको अध्ययन गरी यस अगाडिको नक्सामा छुटेका भूभागहरु समेत नयाँ नक्सामा समाबेश गरेको बताउनुभयो । 

मन्त्री अर्यालले नयाँ संस्करणको नक्सा छिट्टै हार्डकपी तथा वेवसाईडमा उपलब्ध हुने जानकारी दिनुहुँदै सबै सरकारी कागजपत्र, पाठ्यपुस्तक तथा नेपालको नक्सा प्रयोगहुने सबै ठाउँमा अध्यावधिक नक्साको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।  

मन्त्री अर्यालले तत्कालिन इष्ट इन्डिया कम्पनी र नेपाल सरकार बीच भएको सुगौली सन्धी अनुसार महाकाली नदी पूर्वका सबै भू–भागहरू नेपालको अभिन्न अगं रहेको हुनाले छिमेकी राष्ट्र भारतले समेत यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले दुई पक्षीय वार्ता र कुटनीतिक प्रयासद्वारा भारतसंगका सबै समस्याहरूको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । 

यस अघि यही बैशाख ५ गतेको मन्त्रीपरिषद् बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा सहित प्रचलित नक्सामा छुटेका भागहरु समेटिएको नक्सा स्वीकृत गरेको थियो । 

यसैगरी यही जेष्ठ २ गते संसदको दुवै सदनमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत छुटेका भू–भाग समेटी नयाँ नक्सा सार्वजनिक गर्ने कुरा उल्लेख गरिएको थियो ।