पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पिसिआर किट तथा भिटीएम अभावमा स्वाब संकलन ठप्प

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । विगत दुई दिन देखि वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम अभाव भएपछि स्वाब संकलन गर्ने कार्य रोकिएको छ । 

कोरोना संक्रमणको नेपालकै लागि हट्स्पट बन्दै गएको वीरगञ्जमा दुई दिन देखि पिसिआर किट भिटीएम नहुँदा प्रभावित क्षेत्र तथा संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने कार्य रोकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. मदन कुमार उपाध्यायले बताउनु भयो । 

वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गरी सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्नुपर्ने हुन्छ, तर कन्ट्याक्ट ट्रेसिङ्गको कार्य भएपनि स्वाब संकलन गर्ने भिटिएम तथा पीसीआर किट नभएको कारण स्वाब संकलन कार्य दुई दिन देखि रोकिएको डा.उपाध्यायले जानकारी दिनुभयो । 

स्वाब संकलनका लागि वीरगञ्ज महानगरपालिका लगायत पर्साको ग्रामीण भेग छिपहरमाई गाउँपालिका लगायतका स्थानमा कन्ट्याक्ट ट्रेसिङ्गको कार्य सम्पन्न भइसकेको छ । कन्ट्रयाक टे«सिङ्गका आधारमा आफूले मन्त्रालय समक्ष ५ हजार पीसीआर किट र भीटीएमको माग गरेको र मन्त्रालयले तत्काल पठाउने बताए पनि हाल सम्म अस्पतालमा आईनपुग्दा समस्या भएको डा.उपाध्यायले जानकारी दिनुभयो । 

हाल पर्सा जिल्लामा ९१ जना संक्रमित रहेका छन । जसमध्ये वीरगञ्ज महानगरपालिका – ३ छपकैयाका मात्रै ४० जना छन् भने छिपहरमाई गाउँपालिकाका १३ जना, कालिकामाई गाउँपालिकाका १ जना तथा बाँकी संक्रमित वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । 

अहिले नारायणी अस्पतालको आईसोलेशनमा ७१ र सिद्धार्थ माविको सेमी आइसोलेसन २५ जना गरि ९६ जना संक्रमितको वीरगञ्जमा उपचार भई रहेको छ । संक्रमित मध्ये ५ जना रौतहट,बारा र सर्लाहीका रहेका छन् ।