पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अछामका बेँशीमा रोपाई शुरु

टेकराज भण्डारी, अछाम । अछामका किसानहरु गहुँबाली भित्र्याउने र रोपाईँ गर्ने कार्यमा जुटेका छन् । जिल्लाका सिँचाई सुविधा भएका बेँशी क्षेत्रका खेतमा रोपाईँ कार्य शुरु भएको हो । मानु रोपेर मुरी उब्जाउन किसानहरु यतिबेला जुटिरहेका हुन् ।

यो बर्ष हिउँदमा पर्याप्त वर्षा भएका कारण पनि छिटै रोपाई शुरु भएको हो ।

देश अहिले कोरोना भाईरस (कोभिड–१९) का कारण बन्दाबन्दीको अवस्थामा छ । शहरबजार सुनसान भएपनी गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनी गाउँघरमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन् ।

सिँचाई सुविधा पुगेका खेतमा बैशाखको अन्तिमबाट नै रोपाई गर्न सुरु हुने मंगलसैन नगरपालिका ६ का दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।

अछामको साँफेबगर, कैलाशखोला, खेतगैरा, चाईरा, उनिखेत लगायत सिँचाई सुबिधा पुगेको ठाउमा अहिले धमाधम रोपाईँ भैरहेका हुन् ।

साँफेबगरको बुढीगंगा किनारमा अधिकांश रोपाई सकिएका देख्न पाईन्छ ।

आफुहरु यतिबेला रोपाईँमा निकै व्यस्त रहेको मंगलसैन १ का किसान कर्ण बहादुर थापाले बताउनुभयो । रोपाईको समयमा यो पटक पर्याप्त पानी परेकोे र सिचाई सुविधा पुगेकोले रोपाई भैरहेका उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र अछामका अनुसार अछाममा करिव साढे १६ हजार हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिएको कार्यालयले जनाएको छ ।