पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘२१ लाख बेरोजगारलाई काम दिन सरकारले अधिकत्तम प्रयास गर्ने’ 

भुवनप्रसाद आचार्य । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले तत्कालका लागि कूल २१ लाख बेरोजगारलाई काम दिने गरी सरकारले अधिकत्तम प्रयास गर्ने बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको भिडियो कन्फेरेन्स अन्तरक्रियामा मन्त्री वर्षमान पुनले मन्त्री पुनले लकडाउनका कारण झण्डै १० लाख श्रमिक बेरोजगार भएको, विदेशबाट झण्डै १० लाख श्रमिक फर्कन तयार रहेकोले त्यसलाई ध्यानमा राखि रोजगारीका कार्यक्रममा सरकारले ध्यान दिएको बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रमा मन्त्रालयका तर्फबाट दिन सकिने राहतका बारेमा उपयुक्त निर्णय गर्ने र समस्याको समाधान गरिने बताउनु भयो ।

कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले विद्युत् महसुलमा दिएको २५ प्रतिशत छुट घरधनी र डेरामा बस्ने दुवैलाई भएको मन्त्री पुनले दोहोर्याउनु भयो ।

सरकारले विद्युतीय सवारी साधनको विस्तार तथा आन्तरिक रुपमा विद्युतको बजार विस्तार गर्ने लक्ष्यलाई केन्द्रमा राखेर काम गरिएको पनि मन्त्री पुनले स्पष्ट पार्नु भयो ।

उर्जा मन्त्री पुनले जेठ पहिलो सातासम्म विद्युत् महसुल तिर्दा कुनै पनि जरिवाना नलाग्ने गरी सरकारले निर्णय गरेको जानकारी दिँदै प्राधिकरणको आर्थिक स्वास्थ्यलाई समेत ख्याल गरेर उपभोक्ताले विद्युतीय माध्यमबाट पनि महसुल तिर्न सक्ने व्यवस्था गरिएको बताउनु भयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले कोरोनाको प्रभावको कारण झण्डै एक लाख मजदुर काम बिहिन भएको जानकारी दिनु भयो ।

अध्यक्ष गुरागाईले लकडाउनका कारण समस्या परेका आयोजनालाई व्याज छुट तथा अन्य नीतिगत रुपमा सम्बोधन गरी सहजीकरण गरिदिन मन्त्रालयको ध्यानकर्षण गराउनु भयो ।