पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर बढी हुने प्रक्षेपण 

भुवनप्रसाद आचार्य । चालु आर्थिक वर्ष २०७६–७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबै प्रदेश भन्दा बढी हुने भएको छ । 

केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको हो ।

विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै विभागले सार्वजनिक गरेको थियो ।

प्रदेशगत रुपमा सबैभन्दा कम आर्थिक वृद्धिदर बागमति प्रदेशको देखिएको छ । यस वर्ष वागमती प्रदेशमा आर्थिक वृद्धिदर मात्र १.२३ प्रतिशत मात्र रहने भएको छ । 

विभागले आर्थिक वृद्धि र जीडीपीको प्रक्षेपण गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तराष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म जाने र अन्य क्षेत्र भने जेठबाट क्रमशः अगाडि बढ्ने अनुमानसहित प्रक्षेपण तयार पारिएको जनाएको छ ।

केन्दीय तथ्याडंक विभागले चालु आर्थिक बर्षमा प्रदेश नं १ को आर्थिक वृद्धि ३.४१, प्रदेश नं २    को २.२८,वागमती प्रदेशको १.२३,गण्डकी प्रदेशको २.६ प्रदेश नं ५को २ प्रतिशत र कर्णाली    प्रदेशको ३.५६ तथा सुदुरपश्चिम प्रदेशको ४.०८     हुने प्रक्षेपण गरेको हो । 

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा भने वागमती प्रदेशबाट सबैभन्दा बढी योगदान भएको पाइएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७६–७७ को कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान वागमती प्रदेशले गर्ने देखिएको उल्लेख छ । 

वागमतीले जीडीपीमा ३५.८४ प्रतिशतको योगदान गर्नेछ । सबैभन्दा कम योगदान भने कर्णाली प्रदेशको ४.२७ प्रतिशत रहने उल्लेख गरिएको छ । 

विभागले प्रदेश १ ले बागमति पछि बढी योगदान गर्ने प्रक्षेपण रहेको छ । यस प्रदेशले जीडीपीमा १५.८२ प्रतिशतको योगदान गर्नेछ । त्यसपछि प्रदेश ५ ले १४.१८ प्रतिशत, प्रदेश नं २ ले १३.७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट ७.२१ प्रतिशतको योगदान हुने प्रक्षेपण गरेको विभागका निर्देशक गणेशप्रसाद आचार्यले जानकारी दिनु भयो ।