पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२४ घण्टामा ६ सय ३० नमुना परीक्षणः स्वास्थ्य मन्त्रालय

राजेन्द्र विक्रम शाही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ६ सय ३० जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयले यस अवधिमा काठमाडौं उपत्यकामा ४ सय १ वटा र उपत्यका बाहीर २ सय २९ वटा नमुना परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको र ८ सय बढी नमुनाहरु परीक्षणको क्रममै रहेको जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय २५ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको र देशभर ८ हजार ६ सय ५० जना व्यक्ति क्वारेन्टाइनमा रहेका जानकारी दिनुुभयो ।

प्रवक्ता डा. देवकोटाले कोरोनाका बिरामी र अन्य रोगका बिरामीको उपचारका छुुट्टाछुुट्टै अस्पतालको व्यवस्था गरी सर्वसाधारणमा देखिएको दुविधा अन्त्य गर्न मन्त्रालय लागि परेको बताउनुुभयो ।

मोरङको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पिसीआर मेसीनबाट कोरोना परीक्षण शुुरु गरेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको नमुना परीक्षणको दायरा फराकिलो बनाउदै लैजाने क्रममा हाल सम्म काठमाडौं उपत्यका सहित ११ स्थानबाट कोरोना परीक्षण  थालिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. देवकोटाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा अरोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टी नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ८ जना व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ ।