पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लकडाउन कडाई गर्न प्रहरीको प्ले कार्ड अभियान

निरोज कोइराला, भोजपुर । लकडाउनको अवज्ञा गर्दै आफुखुशी हिँडडुल गर्ने सर्वसाधरण र सवारीसाधनको आवतजावतमा कमी नआएपछि भोजपुर प्रहरीले सचेतनामूलक ‘प्ले कार्ड’ अभियान अघि बढाएको छ ।

बन्दको आव्हान गरिए पनि सर्वसाधरण र सवारीसाधन चल्न थालेपछि जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले सचेतनामूलक प्ले कार्ड प्रदर्शन गर्न थालेको हो ।

संक्रमणको जोखिम बढिरहेका बेला बन्दको अवज्ञा गर्ने सर्वसाधरण र सवारीसाधनलाई सचेत गराउन यो अभियान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुर प्रहरी निरीक्षक प्रदीप तामाङले बताए ।

विशेषगरि सदरमुकाम आसपासका सार्वजनिक स्थानहरुमा प्रहरीले सचेतनामूलक प्ले कार्ड प्रदर्शन अभियान चलाएको हो । सदरमुकाम लगायत मुख्य सडकखण्ड र बजार क्षेत्रहरुमा अत्यावश्यक खाद्यान्न ढुवानी गर्ने सवारीसाधन, एम्बुलेन्स सेवा र अत्यावश्यक कामका लागि चेकपास लिएका सवारीसाधनलाई मात्र खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुर प्रमुख प्रेम कुमार साहको भनाई छ ।

सरकारले सावधानी अपनाउदै जारी गरेको लकडाउन अवधिमा बन्द अवज्ञा गर्ने दर्जनौ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनका बेला जिल्ला भित्र आवतजावत हुने मुख्य सिमानाकामा जिल्ला प्रशासन, स्थानीय प्रशासन, स्थानीय तहहरुले कडाई गरेको छ ।