पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोनाका कारण फेवा नव वर्ष महोत्सव स्थगन

पोखरा । हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा नव वर्ष यसपाली नहुने भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगित गरेको  आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली नयाँ वर्षमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारद्वारा उक्त सङ्क्रमणलाई न्यूनीकरण गर्न घोषित लकडाउनका कारण १७ औँ फेवा नव वर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको बताउनुभयो ।

सङ्घले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक नेपाली नयाँ वर्षमा फेवा नयाँ वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको थियो ।

महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागरका साथै प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिँदै आएको थियो । सङ्घले नयाँ वर्षको शुभकामना दिँदै लकडाउनलाई पूर्ण पालना गरेर सुरक्षित रहन पनि आग्रह गरेको छ ।
रासस