पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारी कम्पनीबाट दैनिक २० हजार बोटल स्यानिटाइजर उत्पादन

radionepal

भुवनप्रसाद आचार्य  | सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण सुरु गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाममा प्रयोग हुने स्यानिटाइजर स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेर बजारमा बिक्री वितरण गर्दै आएको नेपाल औषधी लिमिटेडले जनाएको छ ।

कम्पनीले उखु उद्योगहरुसँग अल्कोहल किनेर जर्मन प्रविधिको प्रयोग गरी उत्पादन स्यानिटाइजर उत्पादन गरेको हो ।

दैनिक एक सय एमएलको २० हजार बोटल र लिटरमा समेत स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बताउनुभयो ।

सय एमएलको स्यानीटाइजरको अधिकतम खुद्रा मूल्य प्रति बोटल एक सय ७५ रुपैयाँ र थोक मूल्य एक सय ५० रुपैयाँ तथा एक लिटरको १५ सय ५० मा बिक्री गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्ड अनुसार ८० प्रतिशत अल्कोहल प्रयोग गरिएको महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बताउनुभयो ।

कम्पनीले आइतबारदेखि दैनिक १५ हजार बोटल स्यानिटाइजर बिक्री गरिरहेको र अहिले अस्पताल, बैंक लगायतमा ठूलो परिमाणमा स्यानिटाइजर माग भैरहेको जनाएको छ ।

कम्पनीले हाल सिटामोल, जीवनजल लगायतका औषधीहरु उत्पादन गर्दै आएको भए पनि लकडाउनको कारण कर्मचारीहरुको अभावमा एक तिहाइ कर्मचारीहरुबाट दैनिक ३ शिफ्ट गरेर औषधी उत्पादन गरिरेहको जनाएको छ ।

कम्पनीमा हाल एक करोड रुपैयाँको सिटामोल, १० लाख पेनकिलर ट्याब्लेट र तीन लाख जीवनजल मौज्दात रहेको छ ।

हाल कम्पनीले दैनिक एक लाख ५० हजार सिटामोल उत्पादन गरिरहेको छ ।