पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतीय सीमा नाकाको एक-एक किलोमिटर दुरीमा सशस्त्र प्रहरी

radionepal

नवीन गिरी, नेपालगञ्ज । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि भारतसंग सीमा जोडिएका बाँकेका नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

कोरोना संक्रमणबाट बच्न बाँके र भारतको बहराइचका मुख्य सीमा नाकामा मात्रै नभई चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आउने हुँदा सीमा नाकामा थप १ सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी दिपक अधिकारीले बताउनुभयो ।

एसपी अधिकारीले नाकामा एक एक किलोमिटरको दुरीमा प्रहरी तैनाथ गरिएको जानकारी दिँदै अब भारतबाट कसैलाई पनि छिर्न नदिइने बताउनुभयो । सीमामा निगरानी बढाउन बाँकेमा रहेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको हो ।

नरैनापुर गाउँपालिका अन्तर्गत्का नरैनापुर, गंगापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैया बिओपी सहित खडैंचा र बढैया बिओपीको पानीट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको एसपी अधिकारीले बताउनुभयो ।

विओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने एसपी अधिकारीले जानकारी दिनुभयो ।