पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुल गार्हस्थ्य उत्पादन ५.३ प्रतिशतमा खुम्चने एडीबीको प्रक्षेपण

भुवनप्रसाद आचार्य । एशियाली विकास बैकले चालु आर्थिक वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

एशियाली विकास बैंक(एडिबीे) ले शुक्रवार फिलिपिन्सको मनिलामा सार्वजनिक गरेको एशियाली विकास परिदृश्यले विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९)को जोखिमका कारण गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो ।

बैकले कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति श्रृङ्खलामा आउने अवरोधले चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६ प्रतिशतले वृद्धि हुने र चालु आर्थिक वर्षको पहिलो सात महिनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको उल्लेख गरेको छ ।

गत माघको अन्त्यतिर सागपात, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड–१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको, महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुने बैकले औल्याएको छ ।

आर्थिक वर्ष २०७६–७७ को पहिलो सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटा खुम्चिएको विकास परिदृश्यले औल्याएको छ ।

एडिबीले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ६.४ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । एडिबीले आर्थिक वर्ष २०७७–७८ सन् २०२१ मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुरा हुने र गौतम बुद्ध अन्तर्र्रािष्ट्रय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ ।

प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आथिर्क वृद्धिलाई थप बल प्रदान गर्ने एडिबीले प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालन भई मुलुकको आर्थिक गतिविधि वृद्धिमा सुधार हुने अपेक्षा पनि प्रतिवेदनमा गरिएको छ ।