पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना उपचार कोषमा एक अर्ब बढी रकम जम्मा

काठमाडौँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज एक अर्ब रुपैया भन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत १ करोड बढी रकम कोषमा जम्मा भएको हो ।
    
कोषमा रकम जम्मा गर्नेहरुमा नेपाल आयल निगम ५० करोड रुपैया, नेपाल फेड फरवार्डस एसोसिएसन सात लाख छ हजार, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूर सञ्चार कम्पनि लिमिटेडले १२ करोड रुपैया रहेका छन् ।

यस्तै नेपाल धितोपत्र बोर्ड तीन करोड रुपैया, निक्षेप तथा कर्जा सुरक्षण कोषको तीन करोड रुपैयाँ, नेपाल स्टक एक्चेन्जबाट तीन करोड ५१ लाख रुपैयाँ, नागरिक लगानी कोष दुई करोड रुपैयाँ, क्लियरिङ र डिपोजिट कम्पनी एक करोड ३५ लाख रुपैया, बिमा समिति पाँच करोड, राष्ट्रिय बिमा संस्थान एक करोड, कर्मचारी सञ्चय कोष पाँच करोड रु, राष्ट्रिय बाणिज्य बैंक एक करोड ८५ लाख र नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैया  रहेको छ ।
    
त्यसक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले कोष खडा गर्ने वित्तिकै  ५० करोड रुपैया राखिएको जानकारी दिँदै मन्त्रिहरुको एक महिनाको तलब राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा खतिवडाले सबै सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै कोष सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताउनुभयो ।    
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व नै संकटमा परेको बेलामा नेपालले पनि त्यो लडाई लड्न सहयोगी हात चाहिने बताउनुभयो ।

कोष सदस्य सचिव नारायण प्रसाद विडारीले कोषमा रहेको रकम कोरोना भाइरससम्बन्धी कार्यमा खर्च गरिने र बाँकी रहेमा प्रधानमन्त्री दैविक उद्धार कोषमा सरेर जाने बताउनुभयो ।