पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारले कृषिजन्य सामग्री ढुवानीमा २५ प्रतिशत छुट दिने

यशोदा अधिकारी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीको रोकथामका क्रममा जारी गरिएको लकडाउनको अवधिमा सरकारले कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

दुध, तरकारी, फलफूल, माछा, अन्डा, मासु तथा खाद्यन्न लगायत सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत् उपलब्ध गराउने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान दिइनेछ ।
 
मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारी साधनको पासको व्यवस्था समेत गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले महामारीको कठिन परिस्थितिमा अत्यावश्यक खाद्य सामग्रीको सहज आपूर्तिका लागि ढुवानीमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री भूसालले महामारीबाट बच्न र दैनिकी समेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढंगले सहज आपूर्तिको व्यवस्था गरिएको जाकारी दिनुभयो ।

मन्त्रालयले लकडाउनको अवधिमा क्षति बेहोर्नु परेका किसानहरुका लागि उचित कार्यक्रम ल्याउन गृहकार्य शुरु गरेको जनाएको छ ।

मन्त्रालयले लकडाउन शुरु हुनासाथ उत्पादकहरुलाई उत्पादन नरोक्न र ढुवानीमा सहज बातावरण बनाइदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेको थियो ।

आज मन्त्रालयले स्थानीय तहलाई पत्रकाचार गरी लकडाउनको अवधिमा कृषिजन्य वस्तुहरुको उत्पादन र आपूर्तिलाई सहज बनाउन र उत्पादित सामाग्रीको बिक्री वितरण नभएमा स्थानीय स्तरमा नै वैकल्पिक वस्तुहरु उत्पादन वा प्राथमिक स्तरमै प्रशोधन गर्ने कार्यमा सघाउन पनि आग्रह गरेको छ ।  

मन्त्रालयले अन्नबाली भित्र्याउने तथा नयाँ बाली लगाउने मौसम भएकाले भौतिक दूरी कायम राख्न आग्रह गरेको छ ।

यस अगाडि अत्यावश्यक खाद्य वस्तुहरुको बिक्रीबितरणमा सहज व्यवस्था अपनाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरिसकेको छ ।