पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि’

केशव ढुंगाना । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका अवसरमा आज मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाँचौ संक्रमितका रुपमा बाग्लुङ स्थायी घर भएकी १९ वर्षीय एक युवतीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उनी यही चैत्र ४ गते क्यू.आर. ६५२ नम्बरको फ्लाईटमार्फत वेल्जियम बाट कतारको दोहा हुँदै काठमाडौ आएकी थिईन् ।

संक्रमित युवती हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस अगाडि सोही फ्लाईटमार्फट फ्रान्स वाट आएकी एक १९ वर्षीय युवतिमा समेत कोरोना भाईरसको संक्रमण देखिएको थियो । उनको टेकु अस्पतालमा उपचार भईरहेको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हाल सम्म ८ सय ७५ वटा नमूना परीक्षण गरिएकोमा ५ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैगरी ३२ वटा नमूना परीक्षणको नतिजा आउन बाँकी रहेको प्रवक्ता देबकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस तथा यसको रोकथामका बारेमा जानकारी दिन आजदेखि नयाँ कल सन्टर समेत स्थापना गरेको छ ।

यस अगाडि सञ्चालनमा रहेको १११५ नम्वरको कल सेन्टरलाई यथावत राखी ११३३ नम्बरको नयाँ कल सेन्टर सञ्चालनमा ल्याएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।