पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लकडाउनका कारण सडक निर्माणको काम रोकियो

जाजरकोट । कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएपछि जाजरकोटको नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणदेखि सडक निर्माणसम्मको काम रोकिएको छ ।

आयोजनाका इञ्जिनीयर पदम थापाले नलगाड नदीको किनारै किनार बाँध निर्माण स्थलसम्म सडक निर्माणको काम भईरहेको तर कोरोना संक्रमणका कारण सबै मजदुरहरू काम छोडेर घर लागेपछि विस्फोटन लगायतका सबै काम रोकिएको बताउनुभयो ।

मुआब्जा वितरणका लागि जाजरकोटका राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, ज्योति विकास बैंकले गाउँमै गएर स्थानीयवासीको खाता खोलेर फर्के पनि लकडाउनका कारण रकम भुक्तानी गर्न भने पाएका छैनन् ।

प्रतिरोपनी छ लाख रुपैयाँका दरले मुआब्जा रकम दिने सहमतिपछि मुआव्जाको काम सुरु भएको थियो । अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुग्नै लाग्दा कोरोना भाईरसको जोखिमका कारण काम ठप्प भएको थापाले जानकारी दिनुभयो ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छा समेत देखाएका छन् । आयोजना निर्माणका लागि १२३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।