पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चीनसँगका दुई नाका खुला

radionepal

भुवनपसाद आचार्य । करिब दुई महिना अघि देखि बन्द रहेका नेपालका दुई उत्तरी भन्सार नाकाहरु शुक्रवारबाट खुलेका छन् ।

सरकारले चीनसरकारसंग छलफल गरी नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका छन् ।

भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो ।

यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातित वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।

वस्तु ढुवानी, चालकको सुरक्षा र व्यवस्थापन, क्वारेन्टाइन नियम लगायतलाई लिएर व्यवस्थापन मोडालिटी बनेको छ । हेल्थ असिस्टेन्टका भरमा रहेका दुबै नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । रसुवागढी नाकामा दुई चिकित्सक, एकजना हेल्थ असिस्टेन्ट र एकजना नर्स तैनाथ गरिएको छ ।

प्रोटोकलअनुसार चीनबाट तोकिएका चालकले चीनबाट नेपाल भित्रिने कन्टेनर पहिले भन्सार यार्डमा ल्याउनेछन् । त्यसलाई क्वारेन्टाइन विधिअनुसार किटाणुरहित बनाउने काम गरिन्छ । त्यसपछि अर्कै सवारी चालकमार्फत् नेपालको गन्तव्यमा पुर्याइनेछ ।

रसुवा र तातोपानी दुबै नाकाबाट हुने आयातमा चीनतर्फ नेपाली चालकहरुले चिनियाँ नागरिक र मालवस्तुलाई नछुने गरी काम गर्ने तयारी गरिएको छ ।

नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई नछोई आवत–जावत गर्ने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए ।