पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आ–आफ्नो ठाउँबाट क्रियाशील हुन राष्ट्रपतिको आव्हान

radionepal

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुुभएको छ ।

कोरोना भाइसबाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामका सन्दर्भमा आज सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवाहरू र हाललाई अन्तर्राष्ट्रिय सीमा नाकाहरू समेत बन्द गर्ने सरकारको निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने उल्लेख गर्नुुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस विरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारी सहित आवश्यक प्रबन्ध मिलाउन संघ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाहरूबीच सुदृढ समन्वय कायम हुनुपर्ने कुरामा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउनुुभएको छ ।

राष्ट्रपति भण्डारीले अहिलेको संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोरोना भाइरसका विरुद्धमा सचेतनापूर्वक अग्रसर हुन संपूर्ण राजनीतिक दल तथा तिनका भातृ तथा भगिनी संस्था, युवा तथा विद्यार्थी, कल्याणकारी संघसंस्था लगायत सबैलाई हार्दिक आव्हान गर्नुुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाई सहित घरमा बस्नु नै उत्तम विकल्प हुने कुरामा समेत जोड दिनुुभएको छ ।