पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आपूर्ति व्यवस्था नियमित गर्न आग्रह

भुवनप्रसाद आचार्य । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले पूर्ण बन्दको आदेशको समयमा  खाद्यवस्तु, औषधि र औषधिजन्य पदार्थ तथा खाना पकाउने ग्याँस बिक्री वितरण हुने पसल तथा बिक्री कक्षहरू नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

कारेनाको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले नेपाल भर गरेको लकडाउनको अवस्थामा मुलुकभर अत्यावश्यक बस्तुहरुको आपूर्ति व्यवस्था सुचारु राख्न सार्वजनिक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

त्यसता पसलहरूमा काम गर्ने सबैले अनिवार्य रूपमा मास्क लगाउने र समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले उपभोग्य सामाग्री, औषधि तथा औषधिजन्य पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने,जम्माखोरी गर्ने,कालोबजारी गर्ने र अवाञ्छित फाइदा लिन खोज्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारवाही गरिने उल्लेख गरेको छ ।

मन्त्रालयले सूचना मार्फत उपभोग्य सामाग्री, औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा औषधि र खाद्यवस्तुका कच्चापदार्थ र पेट्रोलियम पदार्थ,खाना पकाउने ग्याँस समेत ढुवानी गर्ने यातायातका साधन यथावत् सञ्चालन हुने समेत जानकारी गराएको छ ।

ढुवानीकर्ता एवं बिक्रेता तथा वितरकले ढुवानी मजदूरको व्यवस्था गर्नुपर्ने र ती सबै मजदुरहरुका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने तथा समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुन लगाउने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित पसलहरू यथावत् सञ्चालन हुने समेत सूचित गरेको छ ।

आवश्यकता अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ती पसल सञ्चालन गरिने, ती पसलहरूमा काम गर्ने सबैले अनिवार्य रूपमा मास्क लगाउने र समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्ने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनु भयो ।

आपूर्ती मनत्रालयले खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्री कक्ष राखी बिक्री वितरण गर्ने ठूला बिक्रेता (भाटभटेनी सुपरमार्केट, बिग मार्ट, सेलवेज, सेल्सबेरी जस्ता) हरूले आफ्नो बिक्री कक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकहरूलाई उनीहरूकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था समेत गर्न भनेको छ ।

अत्यावश्क वस्तुहरु किन्दा पसलहरूमा भीड हुन नदिई बिक्री वितरण गर्ने र ग्राहकहरू स्वयं सजग भई कम्तिमा एक मिटरको दुरीमा लाईनमा बसी किनमेल गर्ने, प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अति आवश्यक स्थानमा सीमित संख्यामा पेट्रोल पम्पहरू सञ्चालन गर्ने, नेपाल आयल निगमले आफ्ना डिपोहरूमा सीमित संख्यामा कर्मचारी राखी उनीहरुको स्वास्थ्य सुरक्षाको उचित प्रवन्ध गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्ने समेत मन्त्रालयले निर्णय गरेको प्रवक्ता दाहालले जानकारी दिनु भयो ।