पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘लकडाउन’को निर्णय पालना गर्न काँग्रेसको अपिल 

radionepal

रासस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल गरेको छ । 

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत ‘लकडाउन’को अवधिमा हुने या हुनसक्ने सबै जटिलतालाई सहज बनाउन सरकारले सम्बन्धित संयन्त्रको व्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले लकडाउनको स्थितिमा दिनभरि काम गरेर खाने निम्न बर्गका व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लकडाउनको अवधि लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको सङ्घीय राजधानीलगायतको मुख्य शहरी क्षेत्रमा डेरा गरेर बसेका युवाको स्थितिमा जटिलता उत्पन्न हुनसक्ने भन्दै प्रवक्ता शर्माले सरकारका सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीका लागि पनि विशेष राहत योजना निर्माण गर्नुपर्ने उल्लेख गर्नुुभयो । 

जोखिमसँग जुध्न दैनिक रूपमा सही सूचना र तथ्य सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निश्चित गर्नुपर्ने, खाद्यान्न, पानी, अन्य रोगका औषधि एवं ग्यास, मट्टितेललगायतको अभाव हुनसक्ने स्थिति आउन नदिन सङ्घीय सरकारले तिनै तहको सरकारबीच समन्वय गरी भरपर्दो सुनिश्चितता मिलाउनुपर्ने काँग्रेसको विज्ञप्तीमा उल्लेख छ ।