पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गण्डकी प्रदेश सरकारले औद्यागिकीकरण र विकासलाई जोड दिने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको औद्यागिकीकरण र विकासलाई जोड दिने भएको छ  । 

उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा स्थानमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको छ ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारको एक स्थानीय तह–एक उद्योग ग्राम स्थापनाका गर्ने कार्यक्रमअन्तर्गत गरिएको सम्भाव्यता अध्ययनका आधारमा ८५ मध्ये ५१ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्न सकिने देखिएको बताउनु भयो ।

सम्भावना देखिएका स्थानीय तहमध्ये आवश्यक कागजात प्राप्त भएका २१ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकारसँग सिफारिस गरिसकेको छ । 

सरकारले प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि कास्की र तनहुँको तल्लो पुँडिटार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको मन्त्री लम्सालले जानकारी दिनुभयो । पुँडिटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि करिब ३०० रोपनीभन्दा बढी जग्गा रहेको छ । 

त्यसैगरी, लोकाहामा औद्योगिक क्षेत्र स्थापनाका लागि १८० बिघा जग्गा रहेको छ । यी जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइ सकिएको पनि मन्त्रि लम्सालले बताउनु भयो ।

उद्यमशीलताका माध्यमबाट उत्पादनमा जोड दिने लक्ष्यअनुरुप सरकाले प्रदेशभित्रका सबै जिल्लामा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट तीन हजार ७७० जनालाई तालिम दिएको छ । 

तालिम दिइएकामध्ये ५१७ जनालाई प्रविधि हस्तान्तरण गरी उद्यमी बनाइएको र दुई हजार ४३० जना उद्यमीलाई थप तालिम प्रदान गरी स्तरोन्नति गरिएको जनाइएको छ ।

स्तरोन्नति गरिएकामध्ये ९४२ जनालाई युवा उद्यमशीलता तथा औद्योगिक विकास कार्यक्रमअन्तर्गतका सीप विकास तालिम प्रदान गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

गण्डकी प्रदेशमा १० हजार १२१ उद्योग दर्ता भएका छन् भने १० हजार ११८ वटा वाणिज्य फार्म दर्ता छन् ।