पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने गरी संशोधन गर्न सांसदहरुको मांग

radionepal

सुरेन्द्रमणि त्रिपाठी | प्रतिनिधी सभाको आजको बैठकले अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथी बिचार गरियोस् भन्ने प्रस्ताव सर्बसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्रीले नै प्रस्तुत गर्नुभएको बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन बिधेयक २०७६ माथी बिचार गरियोस् भन्ने प्रस्तावमा छलफल भएपनि गणपुरक संख्या नपुगेपछि निर्णय भने हुनसकेन ।

बैठकमा सभामुखले प्रस्ताव निर्णयार्थ पेश गर्दा नेपाली कांग्रेशका सांसद अतहर कमाल मुसलमानले गणपुरक संख्या पुगेन कि भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

त्यसपछि सभामुखले एकीन गर्न ३ मिनेटको समय दिनुभई घण्टी बजाएर सांसदहरुलाई उपस्थित हुन जानकारी गराउंदा एक चौथाई अर्थात ६९ जना उपस्थित हुनुपर्नेमा ५८ जना मात्र भएपछि बिधेयक निर्णयमा पुग्न नसकेको हो ।

त्यसपछि १५ मिनेटकालागि स्थगित बैठक तोकिएको समयमा नबसी भोली बस्नेगरी स्थगित नै भयो ।

यसअघि बैठकमा प्रधानमन्त्री के.पी शर्मा ओलीका तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बहाम्फेले अख्तियार दुरुपयोग अनुसंधान आयोगको उनान्तीसौं वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

त्यसअघि प्रतिनिधी सभाको आजको बैठकमा सांसदहरुले जोसुकै भएपनि भ्रष्टाचारका कसुर गरेको छ भने कार्यवाही हुनैपर्ने,लिम्पियाधुरा,लिपुलेक,कालापानी क्षेत्रको सीमा समस्या समाधान गरेर कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा बललाई यथासिघ्र हटाउने तर्फ सरकारको ध्यानाकृष्ट गराउनुभयो ।

सांसदहरुले पूर्ब संचारमन्त्री गोकुल प्रसाद बासकोटाको भिडियो संबादका बिषय र अन्य विषयहरुमासमेत उहांको संलग्नताको विषय उठिरहेकाले ती लगायत नेपालको नक्सांकित केक काटेको विषयहरुमा प्रधानमन्त्रीले संसदलाई स्पष्ट पानुपर्ने मांग गर्नुभयो ।

बैठकमा बिशेषगरी प्रतिपक्षी दलका सांसदहरुले कोही एक व्यक्तिलाई लक्षित गरेर अहिले संबिधान संशोधनको चर्चा कहांबाट आएको हो,संशोधन आवश्यक छैन भनी विगतका दिनमा रटान लगाईरहेको बर्तमान सरकारले किन संबिधान संशोधनको चर्चा गर्दैछ भनी प्रश्न उठाउनुभयो ।

बैठकमा सत्तापक्षका सांसदले संबिधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्बाचित राष्ट्रपति बनाउने गरी संशोधन गर्न मांग गर्नुभयो ।

प्रतिनिधी सभाको अर्को बैठक भोली पागुन १४ गते दिनको १ बजे बस्नेछ ।