पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । शुक्रवार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ५ सयले बढेर ७८ हजार १ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको कारोबार मूल्य प्रतितोला ७७ हजार ६ सय थियो । गत आइतबार र सोमबार समान ७६ हजार ५ सय रहेको सुनमा मंगलबार २ सय बढेको थियो भने बुधबार ७७ हजार १ सय पुगेको थियो । 

कोरोना भाइरसका कारण चिनियाँ अर्थतन्त्रसँगै विश्वबजारमा परेको प्रभावले अझै केही समय सुनको मूल्य नघट्ने संकेत देखिएको छ ।

विश्वमा अमेरिका पछि दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कोरोना भाइरस को संक्रमणपछि अधिकाश उद्योगधन्दा बन्द छन । जसको सोझो असर अन्तराष्ट्रिय सेयर बजार र डलरको भाउमा परेको छ । 

आफ्नो लगानी सुरक्षित राख्न लगानीकर्ता सुन खरिदतर्फ आकर्षित भएका छन् । यसले गर्दा सुनको भाउ बढिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अघिल्लो दिनको तुलनामा नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ९ सय १५ रूपैयाँ रहेको छ । आइतबार ८ सय ८५ मा कारोबार भएको चाँदी सोमबार र मंगलबार समान ८ सय ९० थियो भने बुधबार प्रतितोला ९ सय ५ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म सुन प्रतिऔंस १६३७.२० डलरमा कारोबार भइरहेको छ ।