पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कार’

बाँके । प्रदेश नंं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको सोमबार शिलान्यास गर्दै उहाँले बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुपर्दछ भन्नु भयो । 

मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गर्दै प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको र २०७७ साल असार २५ गतेसम्म निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।