पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अबको युग आर्थिक क्रान्तिको युगः प्रवक्ता श्रेष्ठ

radionepal

रासस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताउनुभएको छ । 

गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित  कार्यक्रममा उहाँले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताउनुभयो । 

प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताउनुभयो । जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उहाँको भनाइ थियो । 

उहाँले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने गरी योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अघि बढेको उल्लेख गर्नुभयो ।

नयाँ संविधानले नागरिकको मौलिक अधिकारलाई संविधानमा लिपिबद्ध गरिसकेको भन्दै उहाँले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताउनुभयो । 

शिक्षामा गुणात्मक परिवर्तन नगरेसम्म विकासको पूर्वाधार खडा गर्न नसकिने प्रवक्ता श्रेष्ठको भनाइ थियो । उहाँले घरदैलोमा रहेका सामुदायिक विद्यालय कलेजले आम नागरिकलाई गुणात्मक शिक्षा प्रदान गर्न सकेमात्र शिक्षामा गुणात्मक विकास भएको मान्न सकिने बताउनुभयो ।