पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र बङ्गलादेशबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्री स्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ । 

द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल हुने प्रतिनिधिमण्डल स्तरीय वार्तामा साझा चासोका ऊर्जा, व्यापार प्रवद्र्धन, पारवहन, सम्पर्क सञ्जाल विस्तार, पर्यटन, लगानी, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा सघन विचार विमर्श गर्ने कार्यसूची परराष्ट्र मन्त्रालयले निर्धारण गरेको छ । 

भ्रमणको क्रममा सहुलियतपूर्ण व्यापार सम्झौताबारे विशेष रुपमा छलफल हुनेछ भने पश्मिना, जुत्ता चप्पल, अदुवा, अलैँची, सागपात, फलफूल, हस्तकलाका सामग्री, चिया, कफी तथा जडीबुटी र जडीबुटीजन्य नेपाली उत्पादनलाई सहुलियतमा बङ्गलादेशी बजार उपलब्ध गराउन नेपाली पक्षले आग्रह गर्नेछ । 

सन् २०१८–१९ मा नेपालले  एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ लगायतका वस्तु बङ्गलादेश निर्यात गरेको थियो । 

बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले नेपालबाट विद्युत् खरिद गर्ने निर्णयलाई स्वीकृत गरेपछि विद्युत् व्यापारको प्रक्रिया अगाडि बढेको सन्दर्भमा प्रतिनिधिमण्डल स्तरीय वार्तामा त्यससम्बन्धमा गहन छलफल हुने अपेक्षा गरिएको छ । 

बङ्गलादेशले सन् २०४० सम्ममा  नेपालबाट नौ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।