पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि अध्ययन शुरु

भुवनप्रसाद आचार्य । नेपाल भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणका लागि प्रारम्भिक रेखांकनका लागि भारतीय टोलीले प्रारम्भिक स्थलगत अध्ययन थालेको छ ।

भारतीय आयल निगम (आईओसी)का अधिकारीहरुले सिलिगुढीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाईनको प्रारम्भिक स्थलगत रेखाकंन थालेको नेपाल आयल निगमका चारआली कार्यालय प्रमुख बिपिन श्रेष्ठले जानकारी दिनु भयो ।

भारतीय टोलीले नेपालतर्फको प्रारम्भिक रेखांकन सकेर सिलगुढी र पानी ट्यांकीतर्फ अध्ययन गरिरहेको श्रेष्ठले जानकारी दिनु भयो ।

गत पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ गु्ररुपको पहिलो बैठकमा नेपालले सिलिगुढी–झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो । 

सोही बैठकमा दुबै देशका प्रतिनिधि संलग्न संयुक्त अध्ययन कार्यदल गठन गर्ने सहमती भए पनि अझै बन्न सकेको छैन ।

नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्यांकन गर्ने सहमति अनुसार भारतीय पक्ष फिल्डमा आएको र संयुक्त अधययन कार्यदल गठनको लागि समेत तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले बताउनु भयो ।

भारतको सिलगुढीदेखि नेपालको झापाको चारआलीसम्म करिब ३० देखि ३५ किलोमिटर लामो पाईपलाईन निर्माण हुन सक्ने प्रारम्भिक आकंलन गरिएको छ ।