पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हिमालयन शेर्पाद्वारा एनआरटी दुई–एकले पराजित

अजय बम । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

३१ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए । 

४१ औं मिनेटमा हिमालय शेर्पाका स्टेफेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए ।

जीतसँगै हिमालयन शेर्पा १३ खेलमा १४ अंकका साथ १० औं स्थानमा उक्लिएको छ । एनआरटी १३ खेलमा १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।

अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले सुखद अन्त्य गरेको छ । एन्फा मैदान सातदोबाटोमा शुक्रबार सम्पन्न आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । मनाङका लागि निशान लिम्बुले ७५ औँ मिनेटमा गरेको गोल निर्णयक गोल बन्यो । 

जितसँगै मनाङ मर्स्याङ्दी क्लबले १३ खेलबाट २८ अंक जोड्दै ए डिभिजन लिगको सुखद अन्त्य गरेको छ भने जावलाखेल युथ क्लबले लिगमा १३ खेलबाट १९ अंकसहित छैठौँ स्थानमा रहेको छ ।

थ्री स्टार क्लबले जितका साथ ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले जितका साथ लिगको बिट मारेको हो ।

थ्री स्टारको जितमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरेका हुन् । यो खेल अघि नै थ्री स्टारले लिगमा कम्तीमा चौथो स्थानमा रहँदै अन्त्य गर्ने पक्का गरेको थियो । 

च्यासललाई हराएपछि टोली २६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । थ्री स्टारले १३ खेलमा ८ जित, २ बराबर र ३ खेलमा हार बेहोरेको थियो ।

शनिबार हुने शीर्षस्थानको त्रिभुवन आर्मी क्लब (२९ अंक ) र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब (२८ अंक) को खेलले यसपटक लिग उपाधिको छिनोफानो गर्नेछ ।