पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

radionepal

तुलसी सापकोटा । प्रतिनिधिसभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरलेले विधेयकलाई पारित गरियोस भनीे प्रस्तुत गर्नु भएको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो । 
  
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिरुवा संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नुभयो । 

यसैगरी बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ पेश गर्नुभयो ।

यसअघि, प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समाजमा रहेको जातीय छुवाछुत र विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले लामो समयदेखी नेपाली समाजमा रहेका जातीय उत्पीडन, छुवाछुत र बिभेदको अन्त्य गर्न, स्वास्थ्य परिक्षणलाई प्रभावकारी बनाएर देशमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गर्न, अमेरिकी सहयोग संस्था एमसीसीको बारेमा छलफल र बहस गरेर छिटो भन्दा छिटो प्रष्ट पार्ने लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो  ।

प्रतिनिधि सभाको अगामी बैठकमा फागुन २ गते शुक्रवार दिउसो २ बजे बस्नेछ ।