पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालद्वारा अमेरिका आठ विकेटले पराजित

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ ।

अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । 

त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले  १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।