पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बङ्गलादेशका सेना प्रमुख स्वदेश फिर्ता

रासस | नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।  

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उहाँ यही माघ २४ गते नेपाल आउनुभएको थियो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहसंयोजक उपरथी निर्मलकुमार थापाले बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेशका सेना प्रमुख अहमदले भ्रमण अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । 

साथै उहाँले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र केही पर्यटकीयस्थलको भ्रमण गर्नुभएको थियो ।