पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश

अच्युत अर्याल । निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । 

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नुभएको हो ।

परिणाम प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचन आयोगले संवैधानिक र कानूनी व्यवस्था बमोजिम राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् विश्वसनीय रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगका पदाधिकारी एवम् कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न संलग्न सबै निकाय, संस्था एवम् व्यक्तिहरूलाई धन्यवाद दिनुभएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारीले भविष्यमा सम्पन्न हुने निर्वाचनहरूलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले सम्पन्न गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्न समेत निर्देशन दिनुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति समक्ष पेश गरिएको निर्वाचन परिणाम प्रतिवेदनमा राष्ट्रिय सभा गठन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, निर्वाचनको सन्दर्भमा राजनीतिक दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचार संहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषयलाई उल्लेख गरिएको जानकारी दिनुभयो ।

निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल र इश्वरी प्रसाद पौड्यालले सरोकारवालाहरूको सौहार्दपूर्ण एवम् उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण एवम् व्यवस्थित रूपमा सम्पन्न भएको राष्ट्रपति समक्ष जानकारी गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

आगामी फागुन २० गतेबाट रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यहरू मध्ये १८ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा सात प्रदेशबाट महिला समूहतर्पm ७ जना, दलित समूहतर्पm २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्पm २ जना र अन्य समूहतर्पm ७ जना निर्वाचित भएका छन् ।