पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपाधि हेल्प नेपाल र एपीएफलाई

अजय बम । पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियसिपमा पुरुष तर्फको उपाधि हेल्प नेपाल र महिला तर्फको उपाधि एपीएफले जितेको छ । 

एपीएफमाथि हेल्प नेपाल २५–१७, २५–१४ र २५–२१ ले विजयी भयो । पुरुष तर्फको उपाधि भिडन्तमा एपीएफ भने हेल्प नेपालसँग पराजित हुन पुग्यो । 

राखेप कर्भड हलमा शुक्रबार भएको फाइनलमा तीन जना भारतीय खेलाडी र भारतीय सेनामा कार्यरत नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपाल टिमले विभागीय क्लब एपीएफलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

गत संस्करण पनि उत्कृष्ट प्रदर्शन गरेको हेल्प नेपालले खेलाडीको विषयमा विवाद भएपछि बीचैमा प्रतियोगिता छाडेको थियो । तर यस पटक उपाधि नै जित्न सफल भयो ।

प्रतियोगिताको उपाधि विजेता हेल्प नेपालले २ लाख रुपैयाँ जित्दा उप विजेता भएको एपीएफले १ लाख हात पारेको छ ।

यस्तै, पुरुष तर्फ त्रिभुवन आर्मी तेस्रो भयो । आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै तेस्रो भएको हो । गत संस्करणको उपाधि विजेता आर्मी एपीएफसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । 

राष्ट्रिय टिमका खेलाडी रहेको आर्मीले पुलिसमाथि तीन सून्यकै सेटमा पराजित गर्न सफल भयो । पुलिसलाई पराजित गर्दा आर्मीले दुई सेट २५–१८ ले जितेको थियो भने अन्तिम सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो भएको आर्मीले ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा पुरुष तर्फ ११ टिमको सहभागीता रहेको थियो ।

महिला भलिबलमा एपीएफले उपाधी जितेको छ । प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । एपीएफले उपाधि जित्दा खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । 

न्यु डायमण्डलाई पहिलो सेटमा २५–२३ ले हराउँदै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा शुरुदेखि नै प्रतिस्र्धात्मक भए पनि अन्तिममा एपीएफले कमब्याक गरेको थियो । 

२ अंकले पछि परेको एपीएफले अन्त्यमा न्यु डायमण्डलाई २१ मा रोक्दै २५–२१ ले जितेको थियो । तेस्रो तथा निर्णायक सेट पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो । प्रतिस्पर्धात्मक रुपमा न्यु डायमण्डले २५–२३ ले जितेको थियो ।  

तर, चौथो सेटमा एपीएफले २५–१८ ले जित्दै उपाधि जित्न सफल भयो । न्यु डायमण्डकी स्टार खेलाडी प्रतिभा मालि घाइते हुँदै कोर्ट बाट बाहिरिएपछि एपीएफलाई खेल जित्न सहज भएको थियो ।