पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्णाली सरकार र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर

रासस । कर्णाली प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन प्रारम्भका लागि सरकार र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यान्वयन एकाइ स्थापना गरिने र प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उपलब्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दीपक पौड्यालले जानकारी दिनुभयो ।

कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पूरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव बस्नेतले बताउनुभयो ।