पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छाउपडी सिङ्गो देशको समस्याः मन्त्री गुरुङ

radionepal

अछाम । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताउनुभएको छ । 

अछाम सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धका लागि साझा अभियान कार्यक्रममा उहाँले छाउपडी गोठको समस्या समाजमा कुरितिको रुपमा फैलिँदै गएकाले सरकारले गोठ भत्काउने अभियानको थालनी गरेको बताउनुभयो । 

छाउ मान्ने प्रथा देशव्यापी रहेकाले व्यवस्थापन अभाव भएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिम र कर्णाली प्रदेशमा चलिरहेको छाउपडी गोठ भत्काउने अभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । 

मन्त्री गुरुङले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जरा गाडेर बसेको छाउपडी कुप्रथालाई अन्त्यका लागि सबै जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाज जागरुप हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । 

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले समाजमा रहेको छाउपडी प्रथा अन्त्य नभएसम्म देशको विकास सम्भव नभएको बताउनुभयो ।  देशमा तीन तहका सरकार भएकाले समाजमा हुने हरेक सामाजिक अभियानको जिम्मा स्थानीय सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।  

संसद्को सामाजिक समितिका सभापति निरुदेवी पालले सुदूरपश्चिम क्षेत्रले छाउपडी प्रथाका कारण बदनाम हुनुपरेको बताउनुभयो ।