पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र ढुवानी सम्पन्न

radionepal

अच्युत अर्याल । निर्वाचन आयोगले यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू छपाइ गरी सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइ सकिएको जनाएको छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६ हजार २ सय ६० मतपत्र छपाइ गरी राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने समूह र मतदाता संख्याको आधारमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका १ हजार ५ सय ६ जना गरी जम्मा २ हजार ५६ जना मतदाता रहेका छन् ।

जसमध्ये प्रदेश १ मा ३६७ जना, प्रदेश २ मा ३७९ जना, प्रदेश ३ मा ३४८ जना, गण्डकी प्रदेशमा २३० जना, प्रदेश ५ मा ३०५ जना, प्रदेश ६ मा १९८ जना र सुदूरपश्चिम प्रदेशमा २२९ जना मतदाताहरू रहेका छन् ।