पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मलेसिया ११ द्वारा गण्डकी प्रदेश फराकिलो अन्तरले पराजित

सुनसरी । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा मलेसिया ११ ले गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित  गरेको छ ।

सोमबार भएको खेलमा पहिले व्याटिङ गरेको मलेसियाले बिस्फोटक ब्याटिङ गर्दै २ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफि ब्याटिङ थालेको गण्डकी २७ ओभर २ बलमा अलआउट हुदै १ सय ६ रनमा समेटियो ।

गण्डकी प्रदेशका विपिन खत्रीले ४२ र प्रविण ढकालले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन ।

मलेसिया ११ का सुहरिल फित्रीले ४ विकेट लिए भने अनवार रहमान र विजय उन्नीले समान ३–३ जना ब्याट्सम्यनलाई पवेलियन फर्काए ।

व्याटिङ तर्फ मलेसिया ११ का ३ जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे ।

उसका लागि ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए भने  विरनदीप सिंहले ५०  र भुषण सेभले पनि ५० रन बनाउदै अर्धशतक पुरा गरे ।

गण्डकी र मलेसिया दुबै यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए ।

पहिलो सेमिफाइनलमा माघ १ गते त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ भिड्ने छन् भने माघ २ गते सुदूरपश्चिमले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

फाइनल माघ ४ मा हुने छ ।